समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको
११ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ ।
सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । हाल गणना भइरहेका छ निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आकलन गरिएको छ ।