समाचार

मन्टेश्वरी स्कुल नाम मात्रै कि सिकाइ पद्धति प्रभावकारी पनि

मन्टेश्वरी विशेष

भक्तपुर, २४ बैशाख, २०७९ लिडिर मिडिया सम्वाददाता । पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरी किन्डरगार्टेनमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिन्छ ।

विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्री किन्डरगार्टेन शिक्षा निकै महत्वपूर्ण मानिन्छ ।

बालबालिकालाई मन्टेश्वरी विधि र पद्धतिबाट सिकाउने स्थानलाई प्रि स्कुल पनि भनिन्छ ।

मन्टेश्वरी किन्डरगार्टेनमा बालबालिकालाई किताब पढाउनुको साटो खेलकुद तथा अन्य सामग्रीको माध्यमबाट उनीहरुलाई विभिन्न ज्ञान तथा सीप सिकाइन्छ । उनीहरुमा पढ्ने बानीको विकास गराइन्छ ।

मन्टेश्वरी सिकाइले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पुर्‍याउँछ । बालबालिकाको रुचि र चाहनाअनुसार पढाएर उनीहरुलाई पढाइप्रति आकर्षित गर्ने परम्परा र आधुनिक बिधि पद्धतिबाट पढाइ हुने गरिने भएका कारण अहिले मन्टेश्वरी किन्डरगार्टेनप्रति अभिभावकको आकर्षण बढ्दो छ ।

नयाँ शैक्षिकसत्र सुरु भएसँगै अभिभावकले बालबालिकालाई प्ले ग्रुप र नर्सरीमा भर्ना गर्छन् । बालबालिकाका लागि भनेर नेपालमा मन्टेश्वरी स्कुल बग्रेल्ती मात्रामा खोलेका छन् ।

नेपालका अधिकांश मन्टेश्वरी प्रि–स्कुलले कक्षाकोठाको व्यवस्थापन, शिक्षण सामग्रीदेखि शिक्षकको क्षमता र दक्षताका कारण बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन सकेका छैनन् ।

‘मन्टेश्वरी नितान्त लोकतान्त्रिक विधि हो । यसमा बालबालिकाको इच्छा अनुसार सिकाइन्छ, पढाइन्छ । तर नेपालमा बालबालिकाको इच्छा चाहनाको कुनै मतलब नै गरिंदैन । नेपालमा मन्टेश्वरी स्कुल पार लगाउने तवरले मात्रै सञ्चालन भइरहेका छन्,’ उनी भन्छिन् ।

मन्टेश् कस्तो बनाउने भन्ने कुरा समाज र अभिभावकमा पनि भरपर्ने उनको भनाइ छ । अभिभावकको चाहना बालबालिकालाई मन्टेश्वरी स्कुल भर्ना गरेपछि केही सिकोस् भन्ने हुन्छ । उनीहरुले बालबालिकाको भावनात्मक, सामाजिक विकासभन्दा पनि शैक्षिक विकासमा बढी ध्यान दिन्छन् ।

मन्टेश्वरी स्कुल भर्ना भएपछि अभिभावकले पैसा र समयको परिणाम खोज्छन् । स्कुल पठाएपछि केही न केही सिक्नुपर्‍यो । छिटो सिक्नुपर्‍यो भन्ने बुझाइका कारण पनि मन्टेश्वरी शिक्षा नेपालमा परम्परागत संरचनामै चलिरहेको उनले बताइन् ।

मन्टेश्वरी विधि र पद्धति भनेको खेल्दै सिक्दै सिकाउने प्रविधि हो । यसका लागि खेल्ने बालबालिकालाई खेल्ने ठाउँका साथै पठन सामग्री पनि हुन जरुरी छ,’ ढकाल भन्छिन् ।

बालबालिकाको पिठ्युँमा ठूलो झोला बोकाएर किताब घोकाएर पढाउने विकल्पको रुपमा मन्टेश्वरी शिक्षाको सुरुवात भएको उनको भनाइ छ । मन्टेश्वरी स्कुलले बालबालिकालाई प्रयोगात्मक तरिकाले उनीहरु स्वयं आफैंलाई परीक्षण तथा अनुभव गर्न लगाएर सिकाउँदा बालबालिकाले छिटो सिक्ने र सिकाइ दिगो र प्रभावकारी समेत हुने उनी बताउँछिन् ।

मन्टेश्वरी शिक्षाले बालबालिकामा सामाजिक, मनोवैज्ञानिकका साथै व्यवहारमा समेत फरकपन ल्याउने उनको तर्क छ ।

शिक्षाविद् विद्यानाथ कोइराला नेपालका अधिकांश मन्टेश्वरी किन्डरगार्टेन नाम मात्रका भएका र तिनीहरुले बालबालिकाको सामाजिक, मानसिक तथा बौद्धिक विकासमा उल्लेखनीय प्रभाव पार्न नसकेको गुनासो गर्छन् ।

‘मन्टेश्वरी स्कुलले बालबालिकाको क्षमता पहिचान गरेर त्यही अनुसारको शिक्षा दिएर उसलाई सबल बनाउने हो,’ उनी भन्छन्, ‘नेपालका अधिकांश मन्टेश्वरी स्कुल नाम मात्रका छन्, जसले मन्टेश्वरीको नाममा बा–आमालाई आकर्षण गर्ने र तर्साउने काम गरिरहेका छन् ।’

बालबालिकामा आत्मविश्वास जगाउनु, परिवर्तित समाज एवं अन्य व्यक्तिप्रति सकारात्मक सोचको विकास गर्नु, बालबालिकाको क्षमता पहिचान गरी सोही अनुसार उसलाई अगाडि बढाउने प्रयास गर्नु तथा सामाजिक र व्यावहारिक मूल्य मान्यता अनुसार व्यावहारिक ज्ञान प्रदान गरी असल नागरिक बनाउने आधार खडा गर्नु मन्टेश्वरी शिक्षाको मूल उद्देश्य हुनुपर्ने शिक्षाविद् कोइराला बताउँछन् ।

मन्टेश्वरी इटालियन नागरिक मारिया मन्टेश्वरीले विकास गरी प्रयोगमा ल्याएको शैक्षिक विधि हो । अहिले यो विधिलाई विश्वभर आत्मसाथ गरिएको छ । बालबालिकाको सिकाइका लागि निकै प्रभावकारी मानिएको मन्टेश्वरी विधि निकै लोकप्रिय बन्दै गइरहेको छ ।

चिकित्सा क्षेत्रमा कार्यरत मारियाले मानसिक रुपमा कमजोर र अशक्त बालबालिकालाई हेर्ने गरी रोम विश्वविद्यालयको बालमनोविज्ञान शाखामा इन्टर्नको रुपमा काम गर्न थालिन् ।

बालमनोविज्ञान शाखामा काम गर्दा उनले बालबालिकाको मनोविज्ञानबारे अध्ययन अनुसन्धान गर्ने मौका पाइन् । पछि बालबालिकाका लागि परम्परागत भन्दा फरक किसिमका शिक्षा पद्धति आवश्यक रहेको महसुस गरिन् ।

फलस्वरुप उनले सुकुम्बासी बस्तीका बालबालिका जम्मा गरेर प्रयोगात्मक विधिबाट अध्ययन गराउन थालिन् । उनले बालबालिकालाई प्राकृतिक विधिबाट सिकाउन थालिन् । पछि यसै प्राकृतिक विधिलाई संसारभर फैलाइन् ।

सन् १९०७ मा उनले स्थापना गरेको ‘कासा देई बम्बेनी’ अर्थात् ‘चिल्ड्रेन्स हाउस’ स्कुल खोलिन् । यो नै पहिलो मन्टेश्वरी स्कुल हो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button