समाचार

भृकुटीमण्डपमा आउँदो शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पो [राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने]

हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण शनिबार (चैत १९) देखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालको आयोजनामा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ। एक्स्पोबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने जानकारी दिए। एक्स्पोको पूर्वसन्ध्यामा शनिबार बिहान विद्युतीय सवारीसाधनको र्‍याली आयोजना गरिनेछ। भृकुटीमण्डपबाट सुरु हुने र्‍याली नेपालकै पहिलो जलविद्युत आयोजना काभ्रेको फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमै आएर समापन हुनेछ। फर्पिङ जलविद्युत आयोजनामा पर्यटनमन्त्री प्रेम आलेले सहभागीहरुलाई स्वागत गर्नेछन्।

५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको प्रर्दशनी नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यातको वातावरण बनाउने तथा हाइड्रो क्षेत्रले विकास गरेका संसारभरका नयाँ प्रविधिबारे सम्वद्ध पक्षलाई ज्ञान तथा सूचना सम्प्रेषण गर्ने अवसर हुने आचार्यले बताए।

‘एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावरसम्बन्धी विषयगत ६ वटाभन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तरक्रिया तय गरेका छौँ’, आचार्यले भने।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकरवित्त कम्पनीले सयभन्दा बढी स्टल बुकिङ गरेका छन्। प्रर्दशनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रर्दशनीमा नयाँ प्रविधिका साथै हाइड्रो पावरमा रोबोटर्सको भूमिकाबारे जानकारी गराइनेछ भने विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिसन हाइड्रोकन २० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्सनजस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिस्पर्धा एक्स्पोमा हुनेछ।

एक्स्पोमा जलविद्युत प्रवर्द्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बिमा, जलविद्युतमा नयाँ प्रविधि तथा निर्माण सामग्रीका सप्लायर्ससँग सम्बन्धित एक सयभन्दा बढी स्टल राखिने इप्पान जनाएको छ। उनले एक्स्पोको मुख्य उद्देश्य नेपालमा उत्पादित जलविद्युतको बजारीकरण गर्नु रहेको औंल्याए। आचार्यले नेपालमा हाइड्रोपावरको इतिहास एक शताब्दीको भए पनि ०४८ सालपछि निजी क्षेत्रको प्रवेशका कारण सो क्षेत्रले फड्को मारेको बताए। उनले १० वर्षमा १५ हजार मेगावाट जलविद्युतउत्पादनको सरकारी घोषणा कार्यान्वयनको सम्भावना देखिएको भन्दै निजी क्षेत्र त्यसबाट उत्साहित भएको उल्लेख गरे।

बैंक तथा बित्तिय संस्थाहरुले जलविद्युतमा उदारतापूर्वक लगानी गरेकामा आचार्यले धन्यवाद दिए। उत्पादनको समस्या हटे पनि देशभित्र ऊर्जाको प्रयोग बढाउने तथा बाहिर निर्यात बढाउने चुनौती रहेको औंल्याए। आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार सुरु हुने औपचारिक भारत भ्रमणका क्रममा ऊर्जा व्यापारलाई प्राथमिकताका साथ उठान आग्रह गरे।

प्रदर्शनीको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड छ भने आईएफसीलगायतका संघ संस्थाहरुले प्रायोजन गरेका छन्। एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर छन्।
नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल निर्माण व्यवसायी महासंघले पनि प्रर्दशनीलाई सहयोग गर्ने जनाइएको छ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published.

Back to top button